झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले सरकारी बिदा धेरै भएका कारण सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ’हाम्रा सरकारी बिदाहरू धेरै भए । यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ । यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषद्मा पनि छलफल गरेका छौं । गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ ।’

प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारेसमेत थप छलफल आवश्यक भएको बताए ।

उनले भने, ’हामीले गणतन्त्र दिवस मनाउँछौं, प्रजातन्त्र दिवस मनाउँछौं, लोकतन्त्र दिवस मनाउँछौं । तर, ती सबै कार्यक्रमको चरित्र एउटै छ । त्यसलाई कसरी एकीकृत गर्ने र राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ ।’