झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मतदाता परिचयपत्र खारेजीको माग गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अवैध ठहर गरेपछि उनको मतदाता खारेजीको माग गरिएको हो ।

लामिछानेको नागरिकता नै अवैध ठहर भएकाले सोही नागरिकताको आधारमा बनाइएको मतदाता परिचयपत्र रद्द गर्न अधिवक्ता अनुपम भट्टराईले जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका छन् ।

भट्टराईले ३७८७ नम्बरमा दर्ता गरेको निवेदनमा माघ १३ गतेको सर्वोच्चको फैसलापछि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट उनले रितपूर्वक नागरिकता लिएको उल्लेख गर्दै भनेका छन्, ‘तत् सम्बन्धमा मतदाता नम्बर २६३४२९ को प्रयोग गरि निजले काठमाडौं क्षेत्र नम्बर ३, काठमाडौं महानगरपालिका वडा नम्बर ६, खानेपानी संस्थानको परिसर पानीट्यांकीबाट २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको नागरिकता नम्बर १८२२२ बाट लिएको मतदाता परिचयपत्र रद्द गरिपाउँ भनि मतदाता नियमावली ऐन २०७३ को दफा १८ (१) बमोजिम प्रमाणसहित यो निवेदन पेश गरेको छु ।’

उनले जिल्ला निर्वाचन कार्यालयका प्रमुखसँग मतदाता नियमावली ऐन २०७३ को दफा १८ (२) बमोजिम निजको नाम नामावलीबाट हटाउन पनि अनुरोध गरेका छन् । भट्टराईले निवेदनको बोधार्थ निर्वाचन आयोगलाई समेत दिएका छन् ।