झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिरासत, कारागार र बालसुधार गृहमा रहेका व्यक्तिको मानव अधिकारको अवस्था सन्तोसजनक नरहेको बताएका छन् ।

सोमबार महान्यायाधिवक्ताको कार्यालय अवलोकन गर्न पुगेका उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले नेपालका कारागार, बालसुधार गृह र हिरासतको स्तरोन्नती र सेवासुविधा वृद्धि गर्नु नेपाल सरकारको प्राथमिकता रहेको बताए । उनले अनुसन्धानलाई अझ बढी वस्तुगत, वैज्ञानिक, प्रमाणमा आधारित बनाई त्यस्ता प्रमाणका आधारमा अभियोजन र प्रभावकारी प्रतिरक्षाका लागि विधि विज्ञान प्रयोगशालाको विस्तार र विकास गर्न आवश्यक रहेको पनि प्रस्ट्याए ।

उनले कसुरको अनुसन्धान, अभियोजन र प्रतिरक्षाको कार्यलाई थप प्रभावकारी बनाउन र विधि विज्ञान प्रयोगशालालाई प्रदेश तहसम्म विस्तार गर्नका साथै तिनको स्तरोन्नति गर्नका लागि महान्यायाधिवक्ताको कार्यालयबाट गरिएका प्रयासमा सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।