झापा । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार क्षेत्रप्रति दिएको अभिव्यक्ति आपत्तिजनक र अशोभनीय भएको बताएको छ ।

आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले सञ्चार माध्यम, तिनका सञ्चालक र पत्रकारबारे टिप्पणी गरेका थिए ।

रविले आधारहीन र पूर्वाग्रही आरोप लगाएर धम्कीपूणर् अभिव्यक्ति दिएको भन्दै महासंघले विरोध जनाएको हो ।

सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान हुँदा हुँदै धम्कीपूणर् शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय भएको महांसंघको ठहर छ ।

महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै लामिछानेले नाम लिएर सार्वजनिक धम्की दिँदा सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुन सक्ने बताएका छन् ।

‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयं लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्ने महासंघ प्रष्ट पार्न चाहन्छ’ विज्ञप्तिमा भनिएको छ ।

महासंघले आफ्नो धम्कीपूणर् अभिव्यक्ति फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकारको सम्मान गर्न पनि पूर्व सञ्चरकर्मी समेत रहेका लामिछानेलाई आग्रह गरेको छ ।