झापा । पछिल्लो समय स्थानीय तहदेखि केन्द्रीयस्तरका सहकारीमा समेत समस्या देखिनथालेको छ। मिहिनेतले कमाएर केही निश्चित रकम बचत गरेकाहरुले आफ्नो पैसा फिर्ता नपाउने समस्या बढ्नथालेको हो।
धेरै सहकारी भएको देशमध्ये नेपाल पनि एक हो। तर नियमन पक्ष फितलो हुँदा सहकारीले बचतकर्तासँग लिएको पैसाको अपचलन गर्ने, अन्यत्र अनुत्पादक क्षेत्रमा लगानी गर्ने र पैसा नउठ्नेजस्ता समस्या पछिल्लो समय देखिएको छ।
खासगरी निक्षेपकर्ताको बचत रकम सहकारीको उद्देश्य र सिद्धान्तविपरीत कानुनको प्रत्यक्ष बर्खिलाप हुने गरी दुरुपयोग गर्ने, ऋण दिँदा जमानत वा सुरक्षण नराखी वा धितोको अस्वाभाविक बढी मूल्य कायम गरी ऋण प्रवाह गर्ने, कृत्रिम व्यवसाय खडा गरी ऋण दिने प्रवृत्ति मौलाउँदै जाँदा सहकारीमा समस्या पनि बढ्दै गएको देखिएको छ। सहकारीमा आफै सन्चालक समिती भित्रै मिलेर ऋण लिइ चलाउने जस्ता हर्कत मौलाउन थालेकाले सहकारी बदनाम हुँदै गएको छ।
यही माघ ३ गते जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुव यादव बचतकर्ताबाट संकलित लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परे। जग्गा धितो राखेर सहकारीबाट लिएको पैसा फिर्ता गरे पनि फुकुवा नभएपछि उनीविरुद्ध परेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।