सर्वोच्च अदालतमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो ।
यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ ।
लामिछानेले अमेरिकी नागरिकता तथा पासपोर्ट त्याग नगरी (त्याग गरेको निस्सा नदिइ) राजनीतिक दल दर्ता गरेको, निर्वाचनमा प्रतिस्पर्धा गरेको तथा निर्वाचित भएको भन्दै उनको सांसद पद खारेजीलगायतका माग गर्दै सर्वोच्चमा दुइ थान रिट निवेदन दर्ता भएका थिए। अधिवक्ता रविराज बसौला र युवराज पौडेलले दायर गरेको रिटमा बुधबार संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो।