घुमुवा प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले अब लगाम लगाउने भएको छ । घुमुवाका कारण संगठन नै बदनाम भएपछि असल चालचलन भएका प्रहरीलाई मात्र सादा पोसाकमा खटाउने प्रहरी प्रधान कार्यालयको तयारी छ ।
डिआइजी टेकप्रसाद राई नेतृत्वको एक अध्ययन समितिले मंगलबार प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई यससम्बधी प्रतिवेदन बुझाएको छ । जसमा पछिल्लो चार वर्षको ट्र्याक रेकर्ड हेरेर असल चालचलन भएका कर्मचारीलाई मात्र सादा पोसाकमा खटाउनुपर्ने सिफारिस छ ।
सादा पोसाकमा खटाउनुअघि माथिल्ला निकायबाट त्यसको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न पनि भनिएको छ । जिल्ला प्रहरी कार्यालयले पहिला प्रदेश प्रहरी कार्यालयलाई त्यसबारे जानकारी गराएर स्वीकृति लिनुपर्ने हुन्छ ।
नियमन हुने र पारदर्शिता पनि हुने भएकाले यस्तो प्रणाली सिफारिस गरिएको एक अधिकारी बताउँछन् । हाल कार्यालय प्रमुखले आफूनिकटका प्रहरीलाई सादा पोसाकमा खटाउने गरेका छन् ।
प्रहरी प्रवक्तासमेत रहेका डिआइजी राईले सादा पोसाकमा खटिने कर्मचारीका कारण संगठन बदनाम नहोस् भनेर यसमा सुधार थालिएको बताए । ‘अब जो–कोही पनि सादा पोसाकमा काम गर्न पाउँदैन,’ उनले भने, ‘असल चालचलन भएको, अध्ययन र अन्वेषण गर्न सक्नेलाई मात्र उनीहरूको पृष्ठभूमि हेरेर सादा पोसाकमा खटाउन पाइन्छ ।’
प्रतिवेदनका आधारमा सादा पोसाकमा प्रहरी परिचालनसम्बन्धी कार्यविधि संशोधन गर्न लागिएको छ । कार्यविधिविपरीत सादा पोसाकमा कसैलाई खटाउन नपाइने प्रावधान लागू गर्न लागिएको छ ।
सादा पोसाकमा कार्यरत प्रहरीहरू पटक–पटक आफैँ अपराधमा संलग्न हुँदै आएका छन् । घुमुवा प्रहरीसमेत भनिने उनीहरूका कारण प्रहरी बदनाम हुँदै आएको छ । सादा पोसाकमा प्रहरी परिचालनलाई व्यवस्थित बनाउन विगतमा धेरैपटक प्रयास भए पनि सफल हुन सकेको छैन ।
प्रहरीका हाकिमहरूले व्यक्तिगत स्वार्थका लागि सादा पोसाकका प्रहरीलाई परिचालन गर्दै आएका छन् । सूचनासँगै आर्थिक लेनदेनमा पनि संलग्न हुने कारण सादा पोसाकका प्रहरी विवादमा पर्ने गरेका छन् ।
एक प्रहरी अधिकारीका अनुसार खासगरी तराईका जिल्लामा घुमुवा विकृति धेरै छ । कतिपय कार्यालयमा १० वर्षदेखि एउटै प्रहरी घुमुवाका रूपमा कार्यरत छन् । जहाँ सरुवा भए पनि काज मिलाएर त्यहीँ बस्ने प्रवृत्ति छ ।
धेरैजसो हाकिमलाई आर्थिक संकलनका लागि इमानदारभन्दा पैसा उठाउन सक्ने प्रहरी चाहिने र उनीहरूले त्यस्तै खराब संगत भएका प्रहरीलाई रोज्ने गरेका छन् । त्यस्ता प्रहरीकै कारण समग्रमा प्रहरीको इन्टेलिजेन्स बदनाम हुन पुगेको हो ।
सशस्त्र प्रहरी बलमा पनि यस्तो समस्या रहेकोमा राजु अर्याल महानिरीक्षक भएलगत्तै सबैलाई हटाएर इन्टेलिजेन्स तालिम गरेकालाई मात्र खटाउने निर्णय गरेका थिए । तर, पूर्ण रूपमा यो विकृति हट्न सकेको छैन ।