ताप्लेजुङ /  ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पुर्‍याइएको छ । ‘लिफ्टिङ’ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ गरेर पाथीभरामा खानेपानी पुर्‍याइएको हो ।

पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित छ । फुङ्लिङ नगरपालिका -११ फावाखोलाको डढेले स्थित मुहानबाट काफ्‌लेपाटी हुँदै ‘लिफ्टिङ’ प्रविधिबाट मङ्गलबार पाथीभरा मन्दिर क्षेत्रमा पानी पुर्‍याइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि 
काफ्लेले जानकारी दिएका हुन्। पाथीभरा मन्दिर क्षेत्रमा रहेको लिफ्टिङ प्रविधिको पानी सञ्चित गर्ने अन्तिम ट्याङ्कीसम्म पानी पुर्‍याइएको छ ।

OM Sai Pathibhara Hospital

पाथीभरा मन्दिरमा खानेपानी पुर्‍याउन २०७७ असोजमा सम्झौता भएको थियो । लिफ्टिङ प्रविधिमार्फत प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झार्ने योजना छ । यो आयोजना कुल रु आठ करोड २२ लाखको लागतमा निर्माण गरिएको हो।

काफ्‌लेपाटी बाट बलुडाँडा, माथिल्लो फेदी, दोबाटो, नयाँपाटीमा निर्माण भएका ट्याङ्की हुँदै लिफ्टिङ प्रविधिमार्फत पाथीभरा मन्दिरमा पानी पुग्ने व्यवस्था मिलाइएको छ । काफ्‌लेपाटी सहित छवटा ट्याङ्कीमा पाँचवटा स्टेशन मार्फत लिफ्टिङ प्रविधिमार्फत पानी पम्पिङ गरेर लगिएको छ ।