नगरपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरे सगै झापाको दमक नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ ।
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईका अनुसार मङ्सिर २० गतेको कार्यपालिका बैठकले दमक नगरपालिकाको भू–उपयोग कार्यविधि २०७९ पारित गरेको छ ।
अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्न थालेको छ । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालयलाई पत्राचार गरी कार्यान्वयनमा समेत आइसकेको उनको भनाइ छ ।
दमकमा जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन भने राजस्वसमेत प्रभावित हुन पुगेको थियो । कार्यविधिअनुसार दुई दिनदेखि कित्ताकाटको काम सुरु गरिएको मालपोत कार्यालयले बताएको छ। दमक नगरपालिकाले पारित गरेको कार्यविधिमा जग्गालाई सहरी, कृषि, औद्योगिकसहितका विभिन्न क्षेत्र वर्गीकरण गरिएको उल्लेख छ ।