पाँचथर / पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा लागेको आगोमा जलेर दुई जनाको मृत्यु भएको छ ।

मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङ सिंह थेबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र उनका छोरा विजेन्द्र घाइते छन् । उनीहरूको अवस्था सामान्य छ । उनीहरूको टाउको, हात र खुट्टामा आगोले पोलेको छ ।

उक्त घरमा ७ जना सुतेकोमा २ जनाको मृत्यु भएको, दुई जना घाइते भएको र तीन जना भागेर ज्यान जोगाउन सफल भएको डीएसपी खतिवडाले जानकारी दिएका हुन् ।

आगो लागेर टिनको छानो भएको तीन तले घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । आगलागीको कारण खुलेको छैन । यद्यपि बिजुलीको लाइन सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।