चितवन / चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुइ वटा एक सिंगे गैँडा मृत अवस्थामा भेटिएका छन् ।
एउटा निकुञ्जको अमलटारी सेक्टरको कुजौलि रेञ्जपोष्ट अन्तर्गत नारायणी नदी किनारस्थित निकुञ्जको कोर क्षेत्रमा गैँडा मृत फेला परेको हो ।
बुधबार बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले भेला गैँडालाई मृत अवस्थामा भेटेको निकुञ्ज प्रशासनले जनाएको छ । अन्दाजी ६ महिनाको खाग नपलाएको उक्त गैँडाको बाघको आक्रमणबाट मृत्यु भएको जनाइएको छ ।
यसैगरी चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामिचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पनि अर्को गैँडा मृत फेला परेको हो । बिहीबार बिहान निकुञ्जको नियमित गस्ती टोलीले पोथी गैँडा मृत अवस्थामा भेटेको हो ।
अन्दाजी १५ वर्ष उमेरको उक्त गैँडाको आपसमा जुधेर मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालू आवमा मृत्यु हुने गैडाको संख्या ५ वटा रेकर्ड गरिएको छ ।