काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरेका हुन्।
प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ।
यस निर्वाचनबाट प्रतिनिधिसभामा दुई सय ७५ र प्रदेशसभामा पाँच सय ५० गरी आठ सय २५ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभामा ३३ दशमलव १० प्रतिशत र प्रदेशसभामा ३६ दशमलव ३६ प्रतिशत महिला सहभागिता रहेको छ ।
आयोगले आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणाम सहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने जनाएको छ।