काभ्रे / काभ्रेको बेथानचोक गाउँपालिकाले आज शोक बिदा दिने निर्णय गरेको छ ।
मंगलबार साँझ भएको बस दुर्घटनामा परि मृत्यु भएकाहरू प्रति दःख व्यक्त गर्दै र घाइतेहरू प्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले सूचना जारी गर्दै शोक बिदा दिने जनाएका छन् । सम्पूर्ण दिवंगत आत्माको चिर शान्तिको कामनासहित घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामनाको लागि शोक विदा दिएको अधिकारीले जानकारी दिए ।
गाउँपालिका भित्रको सरकारी कार्यालयहरू, सरकारी गैरसरकारी संघ–संस्थाहरू र विद्यालयहरूलाई शोक व्यक्त गर्दै बिदा दिन भनिएको छ ।
हिजो मंगलबार साँझ बेथानचोक –५ च्याल्टीमा व्रतबन्धमा सहभागी भई बनेपातर्फ आउँदै गरेको बा३ख ४३८५ नम्बरको यात्रुबाहक बस बेथानचोक–४ चलाल गणेशस्थानमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतकहरूमध्ये १३ जनाको सनाखत भइसकेको छ । ४ जनाको सनाखत हुन बाँकी छ । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।