काभ्रेपलाञ्चोक / काभ्रेको बेथानचोक गाउँपालिका –४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु भएका १७ जना मध्ये १३ जनाको सनाखत भएको छ भने चार जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका –११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ रहेका छन्।
त्यस्तै, बनेपा नपा –१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा –१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा –११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका –५ की ३२ वर्षीया मञ्जु तामाङको पनि सो बस दुर्घटनामा मृत्यु भएको छ।
यस्तै, बस चालक ललितपुरको महाँकाल –४ घर भई हाल पनौती नपा–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको जोशीले जानकारी दिए।
घाइतेहरुको धुलिखेल अस्पताल, बनेपास्थित शिर मेमोरियल र काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । २२ जना घाइतेमध्ये १ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
मंगलबार साँझ चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा करिब ६ः१५ बजे बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको थियो ।
बेथानचोक गाउँ पालिका –५ च्याल्टी भन्ने ठाउँबाट छेवार मनाएर फर्कर्ने क्रममा ओरालोमा अत्यधिक गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । बनेपा –११, सल्लेबाट बेथानचोक ५ च्याल्टीमा आफन्तको छेवारमा गएर फर्किने क्रममा बस दुर्घटना भएको हो ।