जनकपुरधाम / मधेसी आयोगले थारू र मुस्लिमलाई मधेसी समुदायको सूचीबाट हटाउने भएको छ।
मंसिर २० गते बसेको बैठकले नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन –२०७८ बाट उपसमूह १ मा रहेको थारू र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको हो ।
मधेसी आयोगको उक्त निर्णय कार्यन्वयनका लागि आयोगकी उपसचिव सविता डङ्गोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छन्।
२०७८/०७९ को वार्षिक प्रतिवेदन मार्फत् मधेसी आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारू र मुस्लिमसहित १४९ जातलाई मधेसीको रूपमा सिफारिस गरेको थियो।
तर, थारू र मुस्लिम समुदायका विभिन्न संघ–संगठनले थारू र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको र सो मधेसी समुदायसँग नमिल्ने भएकोले आफूहरूलाई मधेसी क्लस्टरमा नराख्न मधेसी आयोगमा उजुरी दिएका थिए।
उक्त उजुरीमाथि आयोगले निर्णय लिँदै थारू र मुस्लिमलाई मधेसीबाट हटाउने भएको आयोगका अध्यक्ष विजयकुमार दत्तले जानकारी दिए ।