हुम्ला  / कर्णाली नदीमाथि निर्माण गरिएका तीन वटा तुइन विस्थापन भएका छन् । उक्त ठाउँमा झोलुङ्गे पुल निर्माण भएपछि तुइनलाई विस्थापन गरिएको हो । 

खार्पुनाथ गाउँपालिका –४ को नल्न र गाउँपालिका केन्द्र जाने याङ्चुु बजारमा झोलुङ्गे पुलहरु निर्माण गरे पछि तुइन विस्थापन गरेको स्थानीय बबरजङ्ग हमालले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

त्यस्तै सोही गाउँपालिका– १ र ३ को सिमानामा पर्ने बोक्चै गौँडामा पनि झोलुङ्गे पुल निर्माण गरेपछि तुइनलाई हटाइएको छ । तुइन हटाएपछि उक्त क्षेत्रका बासिन्दा निर्धक्क रुपमा आवत जावत गर्न थालेको स्थानीय अर्जुन सिंहले बताए । 

खार्पुनाथ गाउँपालिकामा कर्णाली नदीमाथि चार वटा तुइन थिए । तीमध्ये तीन वटै तुइन एकै वर्षमा विस्थापन भए पनि गाउँपालिका अझै तुइन मुक्त हुनभने सकेको छैन ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले तीन वटा तुइन विस्थापन गर्न सफल भए पनि  सिङ्गो गाउँपालिका भने तुइन मुक्त मुक्त हुन नसकेको बताए । उनले अझै पनि गाउँपालिकाको –१ र २ को सिमाना लाली बगरमा तुइनबाटै स्थानीयलाई तर्नुपर्ने बाध्यता रहेको बताए ।