झापा / सुनसरी, सप्तरी र कैलालीमा भएका मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका –३ नहडामा ३ ओटा मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन् ।
प्रदेश १–०२–०४३ प १७१, को ३८ प ९२१० र को १७ प ६९४४ नम्बरका मोटरसाइकल हिजो साँझ सवा ६ बजे ठोक्किएका थिए । दुर्घटनामा ६९४४ नम्बरको मोटरसाइकलका चालकको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । उनको सनाखत हुन बाँकी छ । घाइते भएकाहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी सप्तरीको रुपनी गाउँपालिका ६ वीरेन्द्र बजारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो बेलुकी साढे ८ बजे स४प १६३८ नम्बरको मोटरसाइकल सडकमा थुपारिएको माटोको ढिस्कोमा ठोकिएर दुर्घटना हुँदा सो मोटरसाइकलका चालक अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा बेलुकी सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनको सनाखत हुन बाँकी छ ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका ७ हरैयाचोकमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । रोकिराखेको सुदूरपश्चिम प्रदेश–०१–००२ त ६४६४ नम्बरको ट्याक्टरमा से७प ७७९३ नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे ठोक्किँदा मोटरसाइकल चालक कञ्चनपुर राजघाटका २३ वर्षीय छविलाल चौधरीको मृत्यु भएको ।
उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।