निलम्बित अवस्थाका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कुनै पनि बेला सर्वोच्चमा प्रवेश गर्ने आशङ्कामा बारले धर्ना दिन लागेको हो ।
संसद् सचिवालयले प्रधानन्यायाधीश जबरा विरुद्धको महाभियोग निस्क्रिय भएको निर्णय गरेपछि बुधबार राणाले आफू कार्यालय जाने बताएका थिए ।
संसद् सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्, न्यायपरिषद् र जबरालाई पत्र पठाएका थिए । सोही पत्रका आधारमा जबरा आफू सर्वोच्च फर्कन पाउनु पर्ने अडानमा छन् । तर बार एशोसियसन र सर्वोच्चका न्यायाधीशहरू भने जबरालाई छिर्न नदिने अडानमा रहेका छन् ।
उता, जबरा विरुद्धको महाअभियोग निस्क्रिय भइसकेको भन्ने संसद् सचिवालयको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्चमा आज (शुक्रबार) सुनुवाइ पनि हुने भएको छ ।
प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद् सचिवालयका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ आज संवैधानिक इजलासमा हुने भएको हो ।
जबराको आचरणमाथि नै प्रश्न उठाउँदै अघिल्लो प्रतिनिधिसभाका सांसदहरुले उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।
महाभियोगमाथि छिनोफानो नहुँदै गौतमले गत बुधबार मात्र प्राकृतिक न्यायको सिद्धान्तअनुसार भन्दै महाभियोग प्रस्ताव निष्प्रभावी भएकाले नियमित कार्यसम्पादन गर्न पाउने दाबीसहित पत्र पठाएका थिए ।
जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग प्रस्ताव दर्ता भएको हो । उनी २८ मङ्सिरमा उमेरहदका कारण अवकाश पाउनेछन् ।