झापा / पुस १ गतेदेखि प्रदुषण जाँच पास नभएको सवारी साधनहरूलाई १ लाख जरिवाना हुने भएको छ ।
वन मन्त्रालय अन्तर्गतको वातावरण विभागले पुस १ गते पछि विभागको परिक्षणमा प्रदुषण जाँच पास नभएको सवारी साधनहरूलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रुपैयाँसम्म जरिवाना हुने चेतावनी दिएको हो ।
साथै सवारीको मर्मत गरी तोकिएको मापदण्डको सिमासम्म मात्र प्रदुषण गर्ने बनाई जाँच पास गराएर मात्र सार्वजनिक स्थानमा सञ्चालनमा ल्याउन सवै यातायात व्यवसायीलाई अनुरोध गरेको छ।
विभागबाट पछिल्लो समयमा गरिएको छड्के जाँचमा काठमाडौं उपत्यकामा सञ्चालन भईरहेका सवारी साधनहरूको धुँवा निस्कासनको अवस्था अत्यन्त दयनीय पाइएकोले आगामी दिनमा विभागले सवारी साधनको धुँवा निस्कासनको अवस्थाको परीक्षणलाई सघनताका साथ प्रभावकारी रुपमा गर्न लागेको एक विज्ञप्तिमार्फत जनाएको छ ।
हाल सवारी साधनमा धुँवा परिक्षण गर्दा तोकिएका मापदण्ड भन्दा बढी प्रदुषण गरिरहेका सवारी साधनलाई एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइएको थियो ।
साथै, आफ्नो टोल छर छिमेकमा खुला रुपमा कोही कसैले फोहोर जलाउने कार्य गरिरहेको छ भने त्यसको जानकारी वातावरण विभागमा गराउन समेत अनुरोध गरेको छ ।