काठमाडौँ / प्रतिनिधिसभाको अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका दर्जनौं विधेयक अब फेरि शून्य अवस्थाबाट मात्र सुरु हुने भएको छ।
लामो समय, ठूलो खर्च र झन्झटिलो प्रक्रिया पूरा गर्दै निश्चित विन्दुमा पुगिसकेका त्यस्ता विधेयकले आउँदो प्रतिनिधिसभामा फेरि सुरुदेखिका सबै प्रक्रिया पूरा गर्नुपर्नेछ।
संसद् सचिवालयका अनुसार अघिल्लो प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै २७ वटा विधेयक निष्क्रिय भएका र १२ वटा विधेयक सरकार आफैँले फिर्ता लिएको छ ।
राष्ट्रियसभाबाट सात र प्रतिनिधिसभाबाट पाँच गरी १२ वटा विधेयक सरकारले फिर्ता लगेको बताइएको छ । राजनीतिक दलबीच सहमति र समझदारी हुन नसक्दा यसअघिको कार्यकालमा ती विधेयक निष्क्रिय बन्न पुगेका हुन्।
संसद्मा सरकारी र गैरसरकारी विधेयकले प्रवेश पाउँदै आएको छ। सरकारी विधेयक मन्त्री तथा गैरसरकारी विधेयक सांसदले पेश गर्ने कानूनी व्यवस्था छ।
सुरक्षा निकाय र आर्थिकसँग सम्बन्धित विधेयक भने सरकारका मन्त्री आफैँले दर्ता गराउनु पर्ने संवैधानिक व्यवस्था छ।