काठमाडौँ / म्यादी प्रहरीलाई गाली गरी सामाजिक सञ्जालमा भिडिओ हालेको आरोपमा एक जना युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न आक्षेप, लाञ्छना लगाएर सुरक्षाकर्मीको चरित्रमा दाग पुर्याएको आरोपमा युट्युबरलाई साइबर ब्युरोले पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका- ४ हुप्राचौर बस्ने २० वर्षीय प्रतीक भन्ने नवीन खड्का छन् । काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर मंगलबार उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि अनुसन्धान गर्न अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति पाएको छ ।