काठमाडौं / काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा बसोवास गर्दै आएका सुकुम्बासीले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। 

सोमबार काठमाडौँ महानगरपालिकाले बस्ती हटाउन खोजेपछि आज उनीहरूले लाश राख्न प्रयोग गरिने कफनमा महानगरका मेयर बालेन शाहको तस्वीर टाँसेर जुत्ताको माला लगाएर प्रदर्शन गरेका हुन् । 

OM Sai Pathibhara Hospital

आफूहरूको उचित व्यवस्थापन विना हटाउन लागिएका कारण प्रदर्शन गरेको उनीहरूको भनाइ छ । सुकुमबासीले तत्कालै भूमिहीन समस्या समाधान गर्न समेत माग गरेका छन् ।

एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेको थियो। महानगरले बस्ती खाली गराउन भन्दै सूचना टाँसेपनि सुकुम्वासीले अटेरी गरेपछि सोमबार  दिउँसो महानगरको टोली जबरजस्ती बस्ती हटाउन पुगेको थियो। 

बस्ती हटाउने क्रममा दुवै पक्षबीच झडप समेत भएको थियो । झडपका क्रममा स्थानीयले ढुंगामुडा प्रहार गर्दा महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना घाइते भएका  थिए ।

आज सुकुम्बासीले माइतीघरदेखि महानगरको कार्यालय सुन्धारा पुगेर विरोध प्रदर्शन गरिरहेका छन् ।