बुधबारे / झापाको बुद्धशान्ति गाउपालिका- ३ बुधबारेमा 'बर्खा स्मृति प्रतिष्ठान' नामक संस्थाको उद्घाटन गरिएको छ । मानव सेवासँग आवद्ध रहेर आपत् विपत्मा परेका बालबालिका तथा महिलाहरूको सहयोग गर्ने साथै शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यले स्थापना गरिएको प्रतिष्ठानको आज उद्घाटन गरिएको हो ।
बुधबारेका समाजसेवी मदन कुमार प्रसाईँले आफ्नी श्रीमतीको सम्झनामा उक्त स्मृति प्रतिष्ठानको स्थापना गरेका हुन् । माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको प्रमुख आतिथ्यमामा शनिबार रामजानकी मन्दिरको सभाहलमा एक कार्यक्रमका बिच उक्त प्रतिष्ठानको उद्घाटन गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष मदन कुमार प्रसाईँको अध्यक्षता, माइती नेपालकी संस्थापक अध्यक्ष कोइरालाको प्रमुख आतिथ्यता साथै जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख, तीनवटै सुरक्षा निकाय झापाका प्रमुख लगायत विभिन्न सामाजिक व्यक्तिको उपस्थितिमा ७० लाख पुँजी रहेको यस प्रतिष्ठानको उद्घाटन गरिएको छ । प्रतिष्ठानका अध्यक्ष मदन कुमार प्रसाईले प्रतिष्ठान स्थापनाको उद्देश्यका बारेमा प्रकाश पारेका थिए ।
वि सं २०३८ सालमा पिता भक्तबहादुर र माता पूर्णिमा खड्काकी सन्तानका रुपमा रहेकी बर्खा खड्का वि सं २०७२ सालमा बुद्धशान्तिकै समाजसेवी मदन प्रसाईसँग वैवाहिक जीवनमा बाँधिएकी थिइन् । तत्पश्चात् आप्रवासीहरूको क्षेत्रमा काम गर्ने संस्था आइ वो एम मा जोडिएर कामको शिलशिलामा अमेरिकामा रहेकी बर्खाको केही समय अघि ट्राफिक लाइटमा भएको प्राविधिक त्रुटिका कारण कारको ठक्करबाट अमेरिकामानै मृत्यु भएको थियो ।
मदर टेरेसा र अनुराधा कोइरालाको मानव सेवाका कार्यबाट प्रभावित रही सामाजिक कार्यमा सक्रिय रहेकी बर्खाको अल्पायुमै मृत्यु भएकोले उनकै सम्झनामा यस प्रतिष्ठान खोलिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईँले जानकारी दिएका छन् । हाल प्रतिष्ठानको उपाध्यक्षमा हेमबहादुर प्रसाईँ, सचिवमा मदन मगर, सहसचिवमा अम्बिका घिमिरे प्रसाईँ, कोषाध्यक्षमा शकुन्तला अधिकारी र सदस्यहरूमा मनोज प्रसाईँ, धर्म कँडरिया, प्रल्हाद खड्का र पवित्रामाया थापा खड्का रहेको बताइएको छ ।
कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष कोइराला , झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल , बुद्धशान्ति गाउँपालिकाका उपप्रमुख भवानी खतिवडा , प्रधानमन्त्री कार्यलयका उपसचिव तीर्थराज खनाल , लगायतले शुभकामना मन्तव्य राखेका थिए ।