बुधबारे / झापाको बुद्धशान्ति गाउपालिका- ३ बुधबारेमा 'बर्खा स्मृति प्रतिष्ठान' नामक संस्थाको उद्घाटन गरिएको छ । मानव सेवासँग आवद्ध रहेर आपत् विपत्मा परेका बालबालिका तथा महिलाहरूको सहयोग गर्ने साथै शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यले स्थापना गरिएको प्रतिष्ठानको आज उद्घाटन गरिएको हो ।
बुधबारेका समाजसेवी मदन कुमार प्रसाईँले आफ्नी श्रीमतीको सम्झनामा उक्त स्मृति प्रतिष्ठानको स्थापना गरेका हुन् । माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको प्रमुख आतिथ्यमामा शनिबार रामजानकी मन्दिरको सभाहलमा एक कार्यक्रमका बिच उक्त प्रतिष्ठानको उद्घाटन गरिएको हो ।
मदर टेरेसा र अनुराधा कोइरालाको मानव सेवाका कार्यबाट प्रभावित रही सामाजिक कार्यमा सक्रिय रहेकी बर्खाको अल्पायुमै मृत्यु भएकोले उनकै सम्झनामा यस प्रतिष्ठान खोलिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईँले जानकारी दिएका छन् । हाल प्रतिष्ठानको उपाध्यक्षमा हेमबहादुर प्रसाईँ, सचिवमा मदन मगर, सहसचिवमा अम्बिका घिमिरे प्रसाईँ, कोषाध्यक्षमा शकुन्तला अधिकारी र सदस्यहरूमा मनोज प्रसाईँ, धर्म कँडरिया, प्रल्हाद खड्का र पवित्रामाया थापा खड्का रहेको बताइएको छ ।