विराटनगर / १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले  प्रहरी नायब उपरीक्षक राजकुमार राई र प्रहरी निरीक्षक मिलन थापालाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गर्ने उनिहरुलाई प्रदेश प्रहरी कार्यालय बिराटनगरले सम्पादित कार्यको उच्च मुल्याङकन गर्दै “महिनाको सर्वोत्कृष्ट प्रहरी” ले पुरस्कृत गरेको हो । 

OM Sai Pathibhara Hospital

पुरस्कृत भएका प्रहरी नायब उपरीक्षक राज कुमार राई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत रही अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गर्नु भएको तथा प्रहरी निरीक्षक थापा इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा कार्यरत रही दमक १० बस्ने १५ वर्षीय दियुष श्रेष्ठ र उर्लाबारी- ८ का ४२ वर्षीय काजी दर्जीलाई धारिलो हतियार प्रहार गरी मृत्यु भएको छुट्टा छुट्टै घटनाहरूमा अभियुक्तहरूको पहिचान तथा पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन सफल भएकोले दुबै जनालाई कार्तिक “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय क स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।