धनगढी / नेपाली कांग्रेस बाजुराले मतदानका दिन भएका झडप र दुुई जनाको मृत्यु घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेको छ । मार्तडीमा बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीले पछिल्लो असहज अवस्थाबारे धारणा सार्वजनिक गरेको हो ।
मतदानका दिन त्रिवेणी –७ को मतदानस्थलमा मतदान सकिनै लाग्दा विवाद भएपछि प्रहरीले चलाएको गोली लागेर कांग्रेस समर्थित युवा सञ्जीव अयडीको मृत्यु भएको थियो ।
सोही दिन अर्को केन्द्रमा विवाद हुँदा कांग्रेस समर्थित समूहले स्थानीय अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीलाई कुटपिट गरी घाइते बनाएका थिए । पछि राति उनको घरमै गएर पुनः कुटपिट गर्दा अयडीको मृत्यु भएको थियो ।
उक्त घटनालाई लिएर स्थिति तनावपूर्ण भएपछि सदरमुकाम मार्तडीमा बजार र विद्यालय ठप्प छन् । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जिल्लाको अवस्था सामान्य बनाउने प्रयास भइरहेको बताएका छन्
निर्वाचन आयोगले स्थगित भएको बुढीनन्दा –५ को मतदान पुनः गराउन आगामी शनिबारको मिति तोकिसकेको छ । तर पुनः मतदान कसरी गराउने भन्नेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा निकायले समेत चुनौती देखेको छ ।