काठमाडौँ / धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित एभरेस्ट पेपर मिलको बेल्टमा अल्झिएर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा क्षीरेश्वरनाथ नगरपालिका -९ औराहा बस्ने ३७ वर्षीय गौरीप्रसाद श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवका अनुसार शनिबार बिहान १० बजे पेपर मिलमा परालको भुसा ओसार्ने क्रममा मेसिनको बेल्टमा अल्झिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाई मृतकको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । मृतकको परिवार र मजदुरहरू तत्कालै क्षतिपूर्तिको माग गर्दै धर्ना दिएका छन् ।