झापा / आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि झापामा पुरुषको तुलनामा महिला मतदाता सङ्ख्या बढी रहेको छ । 

जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालका अनुसार जिल्लाका अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा देशबाहिर भएका कारण महिला मतदाताको सङ्ख्या बढी देखिएको हो । 

OM Sai Pathibhara Hospital

आसन्न निर्वाचनमा जिल्लाका सात सय ६८ मतदान केन्द्रबाट छ लाख ६३ हजार तीन सय ११ मतदाताले मतदान गर्ने छन् । पाँच वटा निर्वाचन क्षेत्रका कुल मतदातामध्ये महिलाको संख्या तीन लाख ३२ हजार २५९, पुरुषको संख्या तीन लाख ३१ हजार ४४ र अन्य मतदाता आठ जना रहेका छन् ।

झापाको क्षेत्र नम्बर –१ मा सबै भन्दा थोरै एक लाख २० हजार ३७५ मतदाता छन् भने क्षेत्र नम्बर –५ मा सबैभन्दा धेरै एक लाख ५४ हजार २८९ मतदाता छन । 

क्षेत्र नम्बर –२ मा एक लाख ३४ हजार ९१, –३ मा एक लाख ३१ हजार ४३२ र क्षेत्र नम्बर –४ मा एक लाख २३ हजार १२४ मतदाता रहेका छन् । त्यस्तै निर्वाचनमा खटिने कर्मचारी र कैदिबन्दिहरु सहित झापामा छ हजार २४२ अस्थायी मतदाता रहेका छन् । 

जिल्ला निर्वाचन कार्यालय झापाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएका कारण सुरक्षामा कुनै समस्या नहुने बताइएको छ । 

निर्वाचनका लागि झापामा तीन सुरक्षा अङ्गका करिब दुई हजार हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र मतपेटिका पुगिसकेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।