धनकुटा / धनकुटामा मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको मृत्यु भएको छ ।
साँगुरीगढी गाउँपालिका –३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक्षिका पवित्रा याखा लिम्बूको शुक्रबार मृत्यु भएको हो ।
मतदान अधिकृत प्रज्ज्वल पोखरेलका अनुसार मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्कँदै गरेकी लिम्बू अचानक बेहोस भएकी थिइन् ।
उपचारका लागि धरान लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए । उच्च रक्तचापको समस्या रहेकी लिम्बू सोही कारण बेहोस भएको हुन सक्ने बताइएको छ ।