झापा / भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा चर्चित नेताहरूले नै आफ्नो लागि मतदान गर्न नपाउने भएका छन् । आफ्नो मतदाता नामावली भएको निर्वाचन क्षेत्रभन्दा बाहिर उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएकाले ती नेताहरूले आफैँलाई मतदान गर्न नपाएका हुन् । त्यसरी मतदान गर्न नपाउनेमा एमाले अध्यक्ष केपी ओलीदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्म छन् ।
एमाले अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुर -२ मा छ तर उनी झापा -५ बाट उम्मेदवार भएका छन् । लामो समयदेखि झापा- ५ बाट उम्मेदवार हुँदै आएका ओलीको मतदाता भक्तपुरको सूर्यविनायक नगरपालिकामा सारेका थिए । उनले सूर्यविनायक - ४ बाट मतदान गर्नेछन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मतदाता नामावली चितवन - ३ मा छ तर प्रचण्ड अहिले गोरखा -२ बाट उम्मेदवार छन् । यता, कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले पनि आफूलाई मतदान गर्न पाउँदैनन् । झापा- १ मा मतदाता नामावली भएका सिटौला झापा -३ बाट उम्मेदवार छन् ।
त्यसैगरी, रोल्पामा मतदाता नामावली भएकी ओनसरी घर्ती काठमाडौं -२ मा उम्मेदवार छिन् । घर्तीले पनि आफूलाई मतदान गर्न पाउँदिनन् । कांग्रेस नेता शेखर कोइरालाले पनि आफूलाई मतदान गर्न पाउँदैनन् । मोरङ -६ मा उम्मेदवार रहेका कोइरालाको मतदाता नामावली भने मोरङ -४ मा छ । संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेर फेरि उम्मेदवार भएका जनमोर्चाका चित्रबहादुर केसीले पनि आफूलाई मतदान गर्न पाउँदैनन् । रूपन्देहीमा मतदाता नामावली सारिसकेका केसी बाग्लुङ -१ मा उम्मेदवार छन् । अर्का शीर्ष नेता तथा जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई मतदान गर्न पाउँदैनन् ।
सप्तरी -२ मा उम्मेदवार रहेका यादवको मतदाता नामावली भने मोरङ -५ मा छ । सर्लाही -१ मा मतदाता नामावली भएका लोसपाका अध्यक्ष महन्थ ठाकुर महोत्तरी -३ मा उम्मेदवार रहेका कारण आफूलाई मतदान गर्न पाउँदैनन् । तनहुँबाट काठमाडौं आएर उम्मेदवार भएका कांग्रेस नेता प्रदीप पौडेल पनि आफूलाई भोट हाल्न नपाउने नेतामा पर्छन् । त्यसैगरी, रवि लामिछानेले पनि आफूलाई भोट हाल्न पाउँदैनन् । चितवन -२ मा उम्मेदवार रहेको लामिछानेको मतदाता नामावली भने काठमाडौं -६ मा छ ।