महोत्तरी / महोत्तरीमा बिक्रीवितरण भइरहेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । बर्दिबास नगरपालिकाको विभिन्न ठाउँमा बिक्रीवितरण भइरहेको १८० लिटर मदिरा प्रहरीले बिहीबार राति नष्ट गरेको हो ।
मदिरा बिक्रीवितरण गर्न निषेध गरेको अवस्थामा विभिन्न होटलमा बिक्री भइरहेको मदिरा जनप्रतिनिधि र स्थानीयको रोहबरमा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
निर्वाचन अवधिभर कुनै पनि अवाञ्छित क्रियाकलाप नहुन भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयबाट यसअघि नै मदिरा बिक्रीवितरण र ओसारपसारमा पूर्ण रूपमा रोक लगाइसकिएको छ ।
यसका बाबजुद पनि बिक्रीवितरण भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो । जिल्लाका चारवटै क्षेत्रमा प्रहरीहरू तैनाथ गरी मदिरा बिक्रीवितरणको विषयमा निगरानी बढाइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिए ।