वीरगञ्ज  / नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट प्रहरीले दुईजना पक्राउ गरेको छ । 

वीरगञ्ज महानगरपालिका –१६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका –१६ का २३ वर्षीय अमिरी राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट वीरगञ्जका सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट र वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति कलैयाबाट वीरगञ्ज आउँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा चेकजाँच गर्ने क्रममा नक्कली मतपत्र र नगद फेला पारेपछि नियन्त्रणमा लिएको थियो । 

उनीहरूको साथबाट १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्टाम्प प्याड र नगद २ लाख ७२ हजार बरामद भएको सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।

करिब ३ सय जति नक्कली मतपत्रमा साइकल छापमा मत संकेत गरेको पाइएको छ । उनीहरु कुन निर्वाचन क्षेत्रको लागि नक्कली मतपत्र र रकम लिएर हिँडेका हुन् भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नक्कली मतपत्र र नगद सहित उनीहरूलाई आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ ।