काठमाडौं / त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गरेको आरोपमा केही युवालाई प्रहरीले पक्राउ गरेको छ ।
कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्ने बहानामा बेटिङ गर्नेहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूसँग रहेको मोबाइल पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको सीआईबीका एक अधिकारीले जानकारी दिए। प्रहरीले गत शुक्रबार शृखंलाको पहिलो खेलमा नै शंकास्पद गतिविधिमा रहेका केही दर्शकलाई निगरानीमा राखेको जनाएको छ । त्यही आधारमा अनुसन्धान अघि बढाउँदा आज केही व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।
नेपाल र यूएईबीच शुक्रबारदेखि एकदिवसीय खेलको शृंखला सुरु भएको हो । नेपालमा कानुनले कुनै पनि किसिमको सट्टेबाजीलाई अवैध मान्दै आएको छ।