झापा / मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले आज (बिहीबार) मध्यराति देखि चुनावी प्रचार गर्न नपाउने भएका छन् । 

निर्वाचन आयोगका अनुसार राति १२ बजेपछि देखि शून्य समय (मौन अवधि) सुरु हुने भएकाले त्यसपछि राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार प्रसार गर्न नपाउने भएका हुन् । 

OM Sai Pathibhara Hospital

मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान नसकिएसम्मको समयलाई शून्य समय (मौन अवधि) भनिन्छ । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ । 

शुन्य समयमा दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला र गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचरण निर्देशिकामा उल्लेख छ । 

त्यस्तै आज राति १२ बजे अगाडि राजनीतिक दहरुले मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाउनु पर्ने छ । 

शुन्य समयमा एसएमएस, फेसबुक, भाइवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पनि रोक लगाइएको छ भने अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न समेत पाइने छैन् । 

निर्देशिकाविपरीत शुन्य समयमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ  ।