काठमाडौँ / मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका मतदान गर्न जाँदा जाँदा मोबाइल, सलाई, लाइटर, क्यामेरा लगायत लैजान निर्वाचन आयोगले निषेधित गरेको छ । आयोगले निर्वाचन अधिकृतलाई मोबाइल लगायत सामग्री लिएर आउन मतदाताले नपाउनेबारे सूचित गर्न भनेको छ ।
‘मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई सार्वजनिक आह्वान र अनुरोध गर्ने,’ आयोगले भनेको छ ।
मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाइटर, क्यामरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउने पनि आयोगले मतदान अधिकृतलाई निर्देशन दिएको छ । साथै कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल साथमा लगेर मत संकेत गर्ने स्थानमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने पनि आयोगले बताएको छ ।