झापा / शंकास्पद रूपमा नेपालबाट चाइनातर्फ लैजाँदै गरेको ५ हजार केजी रुद्राक्ष राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर केन्द्रीय कार्यालय काठमाडौं पठाएको छ । बिहीबार आन्तरिक राजस्व कार्यालय धरानले क्रेता र बिक्रेता स्पष्ट नभएको र शंकास्पद रूपमा ढुवानी गरिएको पाइएपछि धरानबाट दुईवटा पिकअपलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको थियो ।
तर, आइतबार राजस्व अनुसन्धान कार्यालयले इटहरीमा अनुसन्धान नै नगरी उक्त सामानसहित राजस्व अनुसन्धान विभाग केन्द्रीय कार्यालय काठमाडौंमा पठाएको छ । बाग्मती प्रदेश ०१–०२६ च ५६०२ र प्रदेश १–०२–००२ च ४४३९ नम्बरको पिकअप गाडी आन्तरिक राजस्व कार्यालय धरानले नियन्त्रणमा लिएर अनुसन्धानका लागि इटहरीमा बुझाएको थियो । उक्त पिकअपमा एउटामा २ हजार ५ सय केजीका दरले ५ हजार केजी रहेको बताइएको छ ।