झापा / मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन भएको छ ।

सेनाले एकीकृत सुरक्षा योजनाअन्तर्गत गत ४ कात्तिकदेखि तोकिएको केन्द्र, प्रदेश र जिल्लामा पुगी निर्वाचन सुरक्षा तयारी सुरु गरेको हो ।

OM Sai Pathibhara Hospital

सेनाले निर्वाचन सुरक्षा कक्षसमेत स्थापना गरेको सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । सेनाले निर्वाचन सुरक्षार्थ ७७९ स्थानमा कम्पनी अपरेटिङ बेस (सीओपी) तथा पल्टुन अपरेटिङ बेस (पीओवी) स्थापना गरेको छ ।

एक पल्टुनमा ३९ जना सैनिक रहने र तीन पल्टुन बराबर एक कम्पनी रहने गरी नेपाली सेनाको संरचना रहेको छ । सेनाले सुरक्षा संवेदनशीलताका आधारमा देशका ७६२ स्थानमा बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको र थप १४३ स्थानमा फौज राख्ने तयारी भइरहेको जनाएको छ ।

सरकारले निर्वाचनको अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्दै आएका विमानस्थल, महत्त्वपूर्ण सम्पदा तथा कारागारलगायत १११ स्थानको सुरक्षामा परिचालन हुने गरी नेपाली सेना तयारी अवस्थामा रहेको छ ।

यसअघि निर्वाचन आयोगको मुख्यालय तथा मतदान सामग्री, मतपत्रको सुरक्षा र प्याकेजिङका लागि १०० सेना परिचालन भइसकेका छन् ।

एकीकृत सुरक्षा योजनाअन्तर्गत सेना निर्वाचनको अवधिमा मतदान स्थलको बाहिरी सुरक्षा, हवाई तथा स्थल गस्ती, विस्फोटक पदार्थ नियन्त्रण तथा निष्कृय गर्नेलगायतमा परिचालन हुनेछ ।

त्यसका लागि पृतना, वाहिनी, गुल्मबाट ७४ हजार ८४९ सैनिक प्रत्यक्ष रूपमा निर्वाचन क्षेत्रमा परिचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ ।

निर्वाचन सुरक्षामा असर पर्ने गरी कुनै गतिविधि भए तत्काल परिचालन हुने गरी काठमाडौं पोखरा, चितवन, बर्दिवास, इटहरी, सुर्खेत लगायत स्थानमा सेनाले हवाई साधनसहित १५० सैनिक तयारी अवस्थामा राखेको जनाएको छ ।

सुरक्षा संवेदनशील रहेका मतदान स्थलमा तत्काल परिचालन हुने गरी १३ हजार ६१० सैनिकलाई मतदान स्थलबाट ३० मिनेटको दूरीमा तयारी अवस्थामा राखिने छ ।

त्यस्तै विस्फोटक पदार्थ पत्ता लगाउन र निष्क्रिय पार्न देशभर २ हजार ५६० तालिम प्राप्त बम डिस्पोजल टोलीलाई पूर्वतयारी अवस्थामा राखिएको नेपाली सेनाले जनाएको छ ।