बिर्तामोड / जिल्ला निर्वाचन कार्यालय झापाले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । निर्वाचनमा आवश्यक पर्ने सबै सामाग्री मतदान केन्द्रमा पुर्याइ सकिएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेले जानकारी दिए । 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिए पछि कूल मतदाताको सङ्ख्या छ लाख ६३ हजार तीन सय ११ पुगेका र तीमध्ये तीन लाख ३१ हजार ४४ पुरुष र तीन लाख ३२ हजार दुई सय ५९ महिला रहेको सूचना अधिकारी  न्यौपानेले बताए ।  त्यस्तै जिल्लामा  आठ अन्य समूहका मतदाताको सङ्ख्या रहेको छ । जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको सङ्ख्या एक हजार दुई सय १५ बढी रहेको बताइएको छ ।  

OM Sai Pathibhara Hospital

पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा सबैभन्दा धेरै मतदाता क्षेत्र नं ५  मा रहेको र सबभन्दा कम क्षेत्र नं १ मा रहेको  छ । उनका अनुसार क्षेत्र नं १ मा मतदाताको सङ्ख्या एक लाख २० हजार तीन सय ७५ रहेको र क्षेत्र नं ५ मा  एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेका छन् । जिल्लामा सात सय ६६ मतदान केन्द्र र दुई सय ८५ वटा मतदानस्थल कायम गरिएको छ । जिल्लामा दुई वटा मतदानस्थल अस्थायी रुपमा तयारी गरिएकामा जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि एउटा र प्रहरी, कर्मचारीलगायतका लागि जिल्लामा अर्को रहेको छ ।  यस निर्वाचनमा १४८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।