काठमाडौँ / अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानका ४३ वर्षीय वीरबहादुर बुढाथोकी र उनीसँग गाँजा लिन आएका भारतको पूर्वी चम्पारनका २५ वर्षीय राजा कुमार रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागूऔषध गाँजा बरामद गरिएको प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ । यसरी १० किलोभन्दा माथि गाँजा उत्पादन, चोरी, पैठारी र ओसारपसार गरेमा दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । उनीहरूलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ ।






































