विराटनगर  / चार हजार बढी अस्थायी मतदाता रहेको मोरङमा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको छ । 

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, तीनै तहको सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका सुरक्षाकर्मी, कारागारमा रहेका थुनुवा, कैदी र वृद्धाश्रममा रहेकाहरु अस्थायी मतदाता हुन् । 

मंसिर ४ मा हुने आमचुनावमा सुनसरीको झुम्का कारागारका झन्डै १ हजार ८ सय कैदीबन्दीमध्ये ४१ जना कैदीबन्दीले मात्र मताधिकार प्रयोग गर्न पाउनेछन् । 

अस्थायी मतदाताहरूले प्रतिनिधिसभाको समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउने जनाइएको छ । कैदिबन्दिहरुको लागि मोरङ कारागारमै मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यलयले जनाएको छ । 

त्यसैगरी कर्मचारीहरूका लागि आदर्श पुस्तकालयमा अस्थायी मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी लेवनकश्यप अधिकारीले जानकारी दिए ।

आयोगले देशभर १ सय ४१ अस्थायी मतदान केन्द्र र कुल १ लाख ३८ हजार अस्थायी मतदाताको सूची तयार पारेको जनाएको छ ।