काठमाडौँ / नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि बर्बराउँदै हिँडेको टिप्पणी गरेका छन् । बिहीबार विभिन्न पार्टी परित्याग गरी नेकपा एसमा प्रवेश गरेका नेता- कार्यकर्ताहरुलाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गर्दै उनले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको आरोप लगाएका हुन् । उनले केपी ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेका बेलामा आफूले टक्कर दिएर सरकार ढालेको बताए ।
उनले सरकार ढलेपछि अहिले ओली उट्पट्याङ कुरा गरिरहेका भन्दै ओलीका उट्पट्याङ कुराहरूको संकलन गर्नुपर्ने बेला भएको बताए । अध्यक्ष नेपालले अध्यक्ष ओलीले झुटा आक्रोश र बदला पोखिरहेको बताए । उनले अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हावी भएपछि आफूले विद्रोह गर्नुपरेको बताए ।
अध्यक्ष नेपालले एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको आरोप लगाउँदै एमालेको आम्दानीको स्रोत भनेको भ्रष्टाचार र लुट रहेको बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पु¥याउने बताए । उनले आफ्नो सरकारले सुकुम्बासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्न काम गरेको बताए । उनले यो काम नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको दाबी गरे ।