रौतहट / मधेस प्रदेशमा ट्राफिक प्रहरीले नियमविपरीत चल्ने सवारीसाधनमाथिको कारबाहीलाई तीव्रता दिएको छ। 

प्रदेशको आठ जिल्लामा ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनमाथि तीब्र रुपमा कारबाही सुरु गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय पथलैयाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताएका छन् ।  

OM Sai Pathibhara Hospital

प्रदेश ट्राफिक प्रमुख एसपी नान्तिराज गुरुङको निर्देशनअनुसार गरिएको कारबाहीबाट मात्र ३ महिनामा २४ लाख १८ हजार राजस्व संकलन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै ६ लाखले वृद्धि भएको छ ।

यस आर्थिक वर्षको साउन, भदौ र असोज गरी तीन महिनाको अवधिमा मधेस प्रदेशको आठ वटै जिल्लामा ट्राफिक नियमविपरीत चलेका तीन हजार ७२० सवारीसाधनलाई कारबाही गरिएको थियो । उक्त कारबाहीबाट कुल २४ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको प्रवक्ता भण्डारीले बताएका छन् ।  

गत आर्थिक वर्षको सोही अवधिमा मधेस प्रदेश ट्राफिक प्रहरीले गरेको दुई हजार ९६९ सवारीसाधनको कारबाहीबाट मात्र १८ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

त्यसैगरी यस आर्थिक वर्षको साउन, भदौ र असोज गरि तीन महिनाको अवधिमा प्रदेशभरिमा कुल १४ सय ५२ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परेर कुल १३० जना मानिसको ज्यान गएको छ । मृत्यु हुनेमा ८९ जना पुरुष, २८  जना महिला, ७ जना बालक तथा ६ जना बालिकाको मृत्यु भएको प्रदेश टफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख छ ।

उक्त दुर्घटनामा परेर दुई हजार चार सय ५६ जना घाइते भएका छन् । घाइते हुनेमा एक हजार ६२३ जना पुरुष,चार सय ६८ महिला, २३२ बालिका रहेको तथ्यांकमा उल्लेख छ ।