विराटनगर / १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा सञ्चालित योग शिविर सम्पन्न भएको छ । पतञ्जलि योग समिति नेपालका युवा केन्द्रिय संयोजक लोकनाथ खनाल सहितको ४ जना योग प्रशिक्षक टोलीद्वारा प्रहरी कर्मचारीहरूलाई योगाभ्यास गराइएको हो । कार्तिक १८ गतेबाट सञ्चालन भएको ५ कार्य दिन अवधिको योग शिविरमा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूका साथै बिभिन्न उन्नत तालिम तथा प्रहरी जवान आधारभुत तालिममा तालिमरत प्रशिक्षार्थीहरू समेत गरी ५५२ जनाको सहभागिता रहेको थियो ।
प्रहरी कर्मचारीहरूले योगको माध्यमबाट थप उर्जा प्राप्त गरी सक्रियताका साथ सेवा प्रवाहमा लाग्ने विश्वासका साथ पतञ्जलि योग समिति नेपाल र नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौ बिच प्रहरी कर्मचारीहरूलाई योगाभ्यास गराउने सम्झौता भए बमोजिम नेपाल प्रहरी अन्तर्गतका कार्यालयहरू तथा प्रहरी तालिम केन्द्रहरूमा सञ्चालित तालिमका प्रशिक्षार्थीहरूलाई पतञ्जलि योग समितिले योगाभ्यास गराउँदै आइरहेको छ । आफ्नो घर परिवारबाट टाढा रहेर पनि जनताको जिउ धनको सुरक्षार्थ अहोरात्र खटिने नेपाल प्रहरीका अधिकृत तथा जवानहरूलाई योगले थप सेवाको भावना जागृत गराउनुका साथै मानसिक एवं शारीरिक तनावबाट मुक्त बनाई चौबीसै घण्टा कार्यक्षेत्रमा खटिन सक्ने क्षमताको वृद्धि गर्नका लागि प्रहरीलाई योग आवश्यक रहेको योग गुरु खनालले बताए ।
सञ्चालित योग शिविरमा समादेशक बास्तोलाले आफ्नो भनाई राख्नु हुँदै मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश र विचलनलाई नियन्त्रण गरी शारीरिक अवस्थालाई सन्तुलनमा राख्न योग प्रभावकारी रहेको बताउँदै समाजमा घट्ने विभिन्न प्रकारका घटना, दुर्घटना र अपराधहरूको प्रभावकारी रोकथाम तथा नियन्त्रण गरी आम नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिई आफ्नो जिम्मेवारी बहन गर्ने प्रहरी कर्मचारीहरूको तनाव व्यवस्थापनमा योग अभ्यासको महत्वपूर्ण स्थान रहेको कुरा उनले बताए । साथै पतञ्जलि योग समितिद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई समेत मङ्गलबारबाट ५ कार्य दिनको योगाभ्यास शिविर सञ्चालन गरेको छ ।