बिर्तामोड / झापाको मेचीनगर–१५ कैयाटोली स्थित टिमाइको सानो पुलमुनि एक किशोरीको शव फेला परेको छ । स्थानीय एक घरमा डेरा बस्दै आएका पुण्यप्रसाद चौधरीकी छोरी १३ बर्षीय युना चौधरी शव आज विहान फेला परेको हो । मृतकका बाबु पुण्यप्रसादका अनुसार मंगलबार अपरान्ह ३ बजेदेखि युना हराइरहेकी थिइन् ।

ज्यामिरगढी माविमा कक्षा ६ मा अध्ययनरत् उनी मंगलबार दिउँसो घर नजिकैको टिमाइ खोलाको नहरतिर गएकी बताइएको छ । घरबाट आधा किलोमिटर दक्षिण टिमाइको सानो पुलमुनि खोलामा घोप्टो परेको अवस्थामा शब फेला परेको छ । उनी हराएपछि मंगलबार नै प्रहरीमा परिवारले खोजीका लागि जानकारी दिएको थियो । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालयको टोली खटिएर कानुनी प्रक्रिया अगि बढाउने तथा घटनाबारे  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।