काठमाडौं / अनुमति बिना विदेशी भ्लगरलाई अन्तर्वार्ता दिएका पाइलट विजय लामालाई नेपाल वायुसेवा उडानमा रोक (ग्राउन्डेड) लगाएको छ । उडिरहेको विमानको ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको अभियोगमा निगमले पाइलट लामालाई उडानमा रोक लगाएको हो ।
वायुसेवा तथा उड्डयनकर्मीहरूको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि ग्राउण्डेड गरेको हो । विभागले लामालाई ग्राउन्डेड गरेको जानकारी बबरमहलमा रहेको प्राधिकरण र सिनामंगलमा रहेको विभागलाई पनि गराएको प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । ‘उडान सञ्चालन नियमविपरीत उडिरहेको विमानमा भिडियोग्राफी गरेको उजुरीका आधारमा पाइलट लामालाई ग्राउण्डेड गरिएको हो,’ निगमको अपरेसन विभागले जारी गरेको कारबाहीपत्रमा लेखिएको छ ।
५८ वर्ष उमेरहदले अवकाश पाई हाल करार सेवामा निगमको वाइडबडी विमान उडाउँदै आइरहेका लामालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको निगमका एक निर्देशकले बताए । लामाले दुबईबाट काठमाडौं आउँदै गरेको निगमको विमानमा एक विदेशी भ्लगरलाई अन्तर्वार्ता दिनुका साथै अनुमति नलिई भिडियोग्राफी गर्न दिएका थिए ।