झापा / मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको  छ । डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक भोलाप्रसाद भट्टका अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ ।

यस्तै सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको  डीएसपी भट्टले बताए  । उनीहरु ६ जनाकै शव निकालिएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

भूकम्पले सोही वडाका पाँच जना घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए । भूकम्पले ठाडागाउँका ८ वटा घर भत्काएको छ भने जिल्लाका अन्य स्थानमा पनि भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । बुुधबार साँझ ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्नीच्यूडको भूकम्प गएको थियो भने मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।