बिर्तामोड / मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।
कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी छविलाल रिजालले बताए । उक्त मतदान केन्द्रबाट कैदीबन्दीका साथै र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीले मतदान गर्न पाउनेछन् ।
झापामा छ हजार २४२ अस्थायी मतदाता छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
कैदीबन्दी, सुरक्षाकर्मी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन् । जिल्लाभरि २८५ मतदानस्थल र ७६६ मतदान केन्द्र छन् ।
निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले आन्तरिक तयारीलाई पनि तीव्र बनाएको छ भने राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रचार–प्रसार कार्य जारी राखेका छन् । यहाँ छ लाख ६३ हजार ३११ मतदाता रहेका छन् ।