जनकपुर / जयनगर–कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ।
नेपाल रेल्वे कम्पनीका अनुसार कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल सेवा सञ्चालन गरिने भएको हो ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले सूचना जारी गरी कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई ध्यानमा राखेर कात्तिक २१ देखि २३ गतेसम्म जयनगर–जनकपुरसम्म अनटाइम्ली सेवा सञ्चालन हुने जानकारी दिए।
कार्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपालका विभिन्न स्थानबाट तथा भारतीय सहरबाट समेत तीर्थालु आउँदा सो तीन दिन यात्रुको चाप बढ्नसक्ने भएकाले रेल सेवा अनटाइम्ली गरिएको प्रबन्ध सञ्चालक झाले बताए।
‘जतिबेला यात्रु आउँछन्, त्यतिबेला नै रेल चलाउँछौँ’, उनले भने, ‘यात्रुको सुविधाकै लागि हामीले यस्तो निर्णय लिएका हौँ, तीन दिन यात्रुलाई यातायातको कुनै समस्या हुन दिँदैनौँ, रेल अनटाइम्ली चलाउँछौँ’, उनको भनाइ थियो।
जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।