बिर्तामोड / मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापामा १३ हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचन यता उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् । 

२३ हजार नयाँ मतदाता थपिएसँगै झापामा कुल मतदाताको संख्या छ लाख ६३ हजार ३११ पुगेको जिल्ला निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए । पाँच वटा निर्वाचन क्षेत्रका कुल मतदातामध्ये महिलाको संख्या तीन लाख ३२ हजार २५९, पुरुषको संख्या तीन लाख ३१ हजार ४४ र अन्य मतदाता आठ जना रहेका छन् ।

OM Sai Pathibhara Hospital

झापाको क्षेत्र नम्बर –१ मा सबै भन्दा थोरै एक लाख २० हजार ३७५ मतदाता छन् भने क्षेत्र नम्बर –५ मा सबैभन्दा धेरै एक लाख ५४ हजार २८९ मतदाता छन । क्षेत्र नम्बर –२ मा एक लाख ३४ हजार ९१, –३ मा एक लाख ३१ हजार ४३२ र क्षेत्र नम्बर –४ मा एक लाख २३ हजार १२४ मतदाता रहेका छन् । त्यस्तै निर्वाचनमा खटिने कर्मचारी र कैदिबन्दिहरुसहित झापामा छ हजार २४२ अस्थायी मतदाता रहेका छन् । 

त्यस्तै आठ नगरपालिका र सात गाउँपालिका गरी १५ वटा स्थानीय तह रहेको झापामा २८५ मतदान स्थल र ७६६ मतदान केन्द्र रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । 

सुरक्षाको दृष्टिकोणले मतदान स्थललाई तीन भागमा वर्गीकरण गरिएको छ । जसमा २७१ मतदान केन्द्र अति संवेदनशील, ३८१ केन्द्र संवेदनशील र ११४ केन्द्र सामान्य रहेको प्रजिअ रिजालले बताए ।