बिर्तामोड / जिल्ला निर्वाचन कार्यालय झापाले आजदेखि नमुना मतदान कार्यक्रम सुरु गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजबाट मतदान कार्यक्रम सुरु गरेको हो ।
आज भद्रपुरको विरेन्द्र रत्न मा.विमा नमुना मतदान गरिएको छ । नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो ।
बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन नमुना मतदानको अभ्यास थालेको जिल्ला निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले छुट्टाछुट्टै रूपमा चारवटा मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ । झापाका १५ वटै स्थानीय तहहरूमा नमुना मतदानको कार्यक्रम सञ्चालन गरिने निर्वाचन अधिकृत नेपालले बताए ।
जिल्ला निर्वाचन अधिकृत नेपालका अनुसार कात्तिक १८ गतेदेखि मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिँदैछ । मतदाता शिक्षाका लागि घरदैलो प्रशिक्षण कार्यक्रम कात्तिक १८ देखि मंसिर १ गतेसम्म सञ्चालन हुने नेपालको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रमका लागि स्थानीय दहहरूका लागि मतदाता शिक्षा अनुगमन अधिकृत तोकिसकेको छ ।
मतदाता शिक्षा अनुगमन अधिकृतले मतदाता शिक्षा कार्यक्रमको स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनको मान्यता अनुसार नियमित अनुगमन गरी निर्वाचन अधिकारीलाई प्रतिवेदन पेश गर्नेछन् ।